विश्वशान्ति चिरन मिलन क्याम्पसले २१२औँ भानुजयन्तीको अवसरमा आयोजित कविता प्रतियोगिता सम्पन्न २०८२
14
Jul

विश्वशान्ति चिरन मिलन क्याम्पसले २१२औँ भानुजयन्तीको अवसरमा आयोजित कविता प्रतियोगिता सम्पन्न २०८२

कविता प्रतियोगिता सम्पन्न
विश्वशान्ति चिरन मिलन क्याम्पसले २१२औँ भानुजयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगिता नेपाली साहित्यिक परम्परा र भानुभक्त आचार्यको विरासतलाई सम्झन र सम्मान गर्ने एक महत्वपूर्ण आयोजना थियो । यसले विद्यार्थीहरूको सृजनशीलता, भावना र साहित्यिक अभिव्यक्तिको विकास गर्न मद्दत गरेको छ । यस कार्यक्रमले विद्यार्थीहरूलाई कविताको माध्यमले आफ्ना विचार, अनुभूति र सामाजिक चेतना प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक सुबास प्याकुरेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले गर्नुभएको थियो । क्याम्पसका निवर्तमान अध्यक्ष प्रा.डा.मोहनप्रसाद लोहनी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने निर्णायकको भूमिका उपप्राध्यापक लक्ष्मीनारायण मिश्र, सुदर्शन अधिकारी र पञ्चकुमारी राईले गर्नुभएको थियो ।
यस कार्यक्रमको उद्देश्य निम्नानुसार रहेको थियो ः
१. भानुभक्त आचार्यको विचारधारा र साहित्यिक योगदानलाई सम्मान गर्ने
२. विद्यार्थीहरूको साहित्यिक प्रतिभा र काव्यात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने
३. सृजनशील लेखन र विचारको आदान–प्रदान गर्ने मञ्च उपलब्ध गराउने
४. साहित्यिक गतिविधिबाट विद्यार्थीहरूको आत्मविश्वास बढाउने
५. क्याम्पसको वार्षिक क्यालेन्डरलाई निरन्तरता दिने
स्वागत मन्तव्यका क्रममा अतिरिक्त क्रियाकलाप समितिका संयोजक सुबास प्याकुरेलले भानुभक्त आचार्यको सामान्य चिनारीसहित कविताको महत्त्वमाथि प्रकाश पार्दै उपस्थित जनभागीहरूलाई स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रा.डा.मोहन लोहनीले भानुभक्तको तस्बिरमा माल्यार्पण गर्दै दुई ओटा मुक्तक वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
स्वतन्त्र शीर्षकमा कविता लेख्न सकिने यस प्रतियोगितामा स्नातकमा अध्ययनरत विभिन्न तहबाट सुस्मिता लामिछाने, लक्ष्मी पाण्डे, सुस्मा लामिछाने, दिलमाया खत्री, सविता तामाङ, त्रिविशा निरौला, गौरव गौतम आदिले प्रतियोगी कविता वाचन गरेका थिए ।
प्रतियोगी कविताहरू वाचन गरेपछि केही अप्रतियोगी कविता, गीत, जगल, मुक्तकहरू पनि वाचन गरिएका थिए ।
निर्णायक समूहले कविताहरूको भाव, भाषा, प्रवाह, रचनात्मकता र सन्दर्भलाई मध्यनजर राखेर मूल्याङ्कन गरेको थियो । प्रत्येक कविताको बारेमा टिप्पणी गर्दै विद्यार्थीहरूलाई सुधार्ने र प्रोत्साहन दिने भूमिका निभाउनुभएको थियो ।
निर्णायक समूहको तर्फबाट संयोजक लक्ष्मीनारायण मिश्रले प्रस्तुत भएका कविताहरूमाथि टिप्पणी गर्दै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूको नाम वाचन गर्नुभएको थियो जसमा प्रथम स्थान प्राप्त गर्ने सविता तामाङ (बिए दोस्रो वर्ष) द्वितीय स्थान प्राप्त गर्ने सुस्मा लामिछाने (बिए दोस्रो वर्ष), तृतीय स्थान प्राप्त गर्ने गौरव गौतम (बिए तेस्रो वर्ष) र सान्त्वना प्राप्त गर्ने त्रिविशा निरौला (बिए चौथो वर्ष) रहेका थिए । विजेताहरूलाई प्रमुख अतिथि डा.लोहनी र क्याम्पस प्रमुख न्यौपानेले खादामालासहित पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले मुक्तक वाचन गरेर आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरूको सङ्ख्या कम भएको विषयलाई उल्लेख गर्दै क्याम्पस प्रमुखले भन्नुभयो, कविता सुनेर भाव बुझ्न सक्ने र लेख्न सक्ने क्षमता भएकाहरूमात्र कार्यक्रममा सहभागी हुन्छन् । जस्तै ः सुन किन्न सक्ने व्यक्तिमात्र सुन पसलमा जान्छ । त्यसैले सुन पसलमा मानिसहरूको भिड कम हुन्छ तर फलाम सस्तो हुन्छ त्यसैले फलाम पसलमा मानिसको भिड लाग्छ ।
क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले कविता प्रतियोगिताको समापनमा दिएको उक्त भनाइले साहित्यिक रुचि, बौद्धिक गहनता र समाजमा कविताको मूल्यप्रति गम्भीर टिप्पणी गर्नुभएकोछ । यो दृष्टान्त सुन र फलामको पसल मार्फतको भनाइले निम्न लिखित गहन अर्थहरू समेटेको छ ः
सुन पसल (कविता) र फलाम पसल (सामान्य र सतही विषय) को तुलना गरेर देखाइएकाे छ। कविता एउटा उच्चस्तरीय सृजनात्मक विधा हो जसलाई बुझ्ने र मूल्याङ्कन गर्ने क्षमता सबैमा हुँदैन । जसरी सुन महँगो, दुर्लभ र गुणस्तरीय हुन्छ त्यसैले यसलाई किन्नेहरू पनि सीमित हुन्छन्, उस्तै कविता पनि गहन भाव, प्रतीक र कलात्मक अभिव्यक्तिको माध्यम हो । यसलाई सिर्जना गर्ने र आस्वादन गर्ने समुदाय पनि सानो तर गम्भीर हुन्छ ।
फलाम पसलमा भिड भन्नाले समाजमा सजिलै पहुँचमा पाउन सकिने, सस्तो (सतही) मनोरञ्जन वा विषयहरूप्रति धेरैको आकर्षण हुन्छ । यसको विपरीत, कविता एउटा चुनिन्दा विधा हो जसमा भावनाको गहिराइ, भाषाको सङ्गीतात्मकता र अर्थको बहुआयामिकता हुन्छ । त्यसैले यसलाई मात्र विशेष रुचि र बौद्धिक सामर्थ्य भएकाहरूले नै आत्मसात् गर्न सक्छन् । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको संख्या कम भएको कारण पनि स्पष्ट छ कि कविता लेख्ने र बुझ्ने क्षमता सबैमा हुँदैन । यसले साहित्यिक अभिरुचि भएकाहरूको समुदाय सानो तर गुणस्तरीय हुन्छ भन्ने तथ्यलाई पनि उजागर गरेको छ । आजको डिजिटल युगमा छोटो र सरल सामग्रीप्रति धेरैको झुकाइ छ भने कविता जस्तो गहन विधा उपेक्षित हुँदै गएको सभापतिको भनाइले संकेत गर्दछ ।
तर, जसरी सुनको मूल्य कहिल्यै कम हुँदैन, कविता पनि साहित्यको शिरोमणि नै रहने छ । सहभागिता कम भए पनि गुणस्तरीय सहभागिता नै असल हो । यसले प्रतिस्पर्धाको मात्रा नभएर गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने शिक्षा दिन्छ ।
न्यौपानेको यो दृष्टान्त कविताको दार्शनिक महत्व, समाजमा यसको सीमित तर गहिरो प्रभाव र साहित्यिक अभिरुचिको विशिष्टतालाई प्रकट गर्दछ । सुन र फलामको यो तुलनाले साहित्यिक मूल्यांकनको एउटा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ जसले कविताप्रति सम्मान जगाउँछ । कविता सुन जस्तो —दुर्लभ, चम्किलो र चिरस्थायी छ । यसलाई बुझ्नेहरू थोरै हुन्छन् तर उनीहरू नै समाजको सांस्कृतिक आत्मा हुन् ।
सभापति न्यौपानेले भानुभक्तको ऐतिहासिक पृष्ठभूमि केलाउँदै भानुभक्तले घाँसीबाट पाएको प्रेरणा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । नेपालमा सामान्य किसानको मूर्ति पनि तिनै भानुलाई उपदेश दिने घाँसीको निर्माण गरिएको जानकारी गराउनुभयो । अन्त्यमा विजेताहरूलाई बधाई ज्ञापन गर्दै उपविजेताहरूलाई पनि अर्काे कार्यक्रमका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । यस कार्यक्रमले निम्नानुसारको महत्वलाई झल्काएको छ ः
१. साहित्यिक संस्कृतिको संरक्षण ः
२. युवा प्रतिभाको प्रोत्साहन ः
३. आत्मविश्वासको विकास ः
४. सामाजिक चेतना ः
यस प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यिक रुचि जगाएको छ र उनीहरूको सृजनात्मक क्षमतालाई निखार्न मद्दत गरेको छ । भानुभक्त आचार्यको विरासतलाई कायम राख्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्नु आवश्यक छ । विद्यार्थी, शिक्षक र साहित्यप्रेमीहरूको सहभागिताले यसलाई अझै बढी सफल बनाउने छ ।
कविता मानिसको मनको ऐना हो, यसले समाजलाई नै बदल्न सक्छ ।
विद्यार्थी क्वालिटी सर्कलका अध्यक्ष हेमचन्द्र दाहालले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए ।

WhatsApp